ओलीको‘ड्रिम प्रोजेक्ट’ सनराइजमा बैठकदेखि हीरक समारोहसम्म,मिशन ८४ का लागि कोशेढुंगा (भिडियो)

ललितपुर, ९ वैशाख । २०७८ साल मंसिर १० गतेदेखि १४ गतेसम्म चितवनमा दसौं महाधिवेशन सम्पन्न गरेको ले त्यसको केही महिना अघि अर्थात २०७८ असोज १५ देखि १७ गतेसम्म लतिलपुर जिल्लाको गोदावरीमा अवस्थित गोदावरी सनराइज (सम्मेलन केन्द्र) मा ६ हजार ३ सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा विधान महाधिवेशन सम्पन्न गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्

यो पटक अर्थात २०८१ वैशाखको ८ र ९ गते त्यहि हलमा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको आयोजना गरेको छ । दुई दिनसम्म प्रतिनिधि परिषद्को बैठक आयोजना गरेपछि एमालेले १० गते यहि स्थानमा पार्टी स्थापनाको ७५ औँ (हीरक) वर्ष समारोहको आयोजना गर्ने तयारी गरेको छ ।

पार्टी स्थापनाको सय वर्ष पुग्दा मुलुकलाई न्यायपूर्ण, विकसित र समुन्नत बनाउने सपना र संकल्पसहित अघि बढेको एमालेले त्यहि सन्देशसहित हीरक वर्ष समारोह मनाउने तयारी गरेको हो ।

केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको यो सम्मेलन केन्द्र ओली प्रधानमन्त्री रहेकै बेला अर्थात् २०७६ पुसमा शिलान्यास भएको थियो भने सभाहलको उद्घाटन पनि ओली प्रधानमन्त्री नै रहेका बेला २०७८ वैशाख ३१ मा ओलीले नै भर्चुअलरुपमा उद्घाटन गर्नुभएको थियो । करीब ३ हजार मान्छे अट्ने त्यहि सभाहलमा यो पटक सातै प्रदेश, ७७ वटै जिल्ला, प्रवास र विभिन्न कमिटीका करीब २४ सय प्रतिनिधि सहभागी भएका छन् ।

हलभित्रका राता कुर्सीमा सनराइज अर्थात सूर्योदय जस्तै उज्यालो अनुहारसहित उपस्थिति भएका प्रतिनिधिमा पनि एक प्रकारको उत्साह छाएको अनुभूति हुन्थ्यो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सभाहलमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरे जस्तै बलियो शक्तिको निर्माणले मात्रै मुलुकमा राजनीतिक स्थायित्वको ग्यारेण्टी गर्न सक्छ अनि राष्ट्रिय हित र स्वाभिमानको रक्षा पनि ।

सनराइज सम्मेलन केन्द्रमा उपस्थित भएका अधिकांश प्रतिनिधिको संकल्प पनि अध्यक्ष ओलीको जस्तै समृद्धि र सुशासनको यात्रालाई निर्वाध अघि बढाउन त्यस्तै निर्णायक राष्ट्रिय शक्तिको आवश्यक पर्छ र त्यो शक्ति एमालेबाट मात्रै संभव छ भन्ने नै देखिन्थ्यो ।

राष्ट्रिय प्रतिनिधि परिषद् प्रथम बैठकको उद्घाटनमा ३१ पृष्ठे राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले छलफलका लागि पार्टी सदस्यता नवीकरण, वितरण तथा परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको मूल्याङकन , कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक सामाजिक रुपान्तरण र जनचासोको विषयसँगै निर्वाचनमार्फत निर्णयक राष्ट्रिय शक्ति निर्माण गर्ने कुरालाई ६ बुँदामा समेटेर त्यहि अनुरुप समूह बनाएर छलफलका लागि निर्देशन दिनुभयो । महासचिव पोखरेलले पनि ३३ पृष्ठे सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी निर्माणमा १३ समस्या रहेको भन्दै समाधानका २० उपाय पनि प्रस्तुत गर्नुभयो ।

अध्यक्ष र महासचिवको दुई प्रतिवेदनसँगै वैठकमा सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोगको प्रतिवेदन र निर्वाचन आयोगको प्रतिवेदन पनि प्रस्तुत भएको छ । आज अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेशनमा आधारीत भएर समूहगत छलफल चलिरहेको छ भने आजै ती छलफलको निछोडसहित कार्यक्रम सम्पन्न गर्ने तयारी छ ।

नेकपा (एमाले) मास पार्टी होइन । एमाले कार्यकर्ताको बलियो जगमा उँभिएको (क्याडर) पार्टी हो । त्यसैले यो पार्टीमा तहगत कमिटी प्रणाली र नीति तथा नेतृत्व निर्माणमा कमिटीको निर्णायक भूमिका रहेको हुन्छ । सचेत र क्रियाशील सदस्य रहेको यो पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीका आधारमा पार्टी निर्माण र परिचालन गर्ने चलन छ । प्रगति र क्रान्तिकारी रुपान्तरणप्रति प्रतिवद्द, सचेत, सङ्गठित र सक्रिय नेता–कार्यकर्ताको बलमा सञ्चालित हुने भएकाले कम्युनिष्ट पार्टी जनताकै एउटा हिस्सा पनि हो ।

तर, पछिल्लो समय महासचिव पोखरेलले प्रतिवेदनमा उल्लेख गरे जस्तै नेता–कार्यकर्तामा अध्ययन र प्रशिक्षणको कमी देखिने गरेको छ भने पार्टी सदस्यताको मापदण्डको पालना नगर्ने, दक्षिणपन्थी अवसरवाद, संगठननात्मक अराजकता र गुटबन्धी गर्ने जस्ता परिपार्टी हुर्किँदै गएका छन् । त्यति मात्रै होइन पार्टी काम र कार्यकर्ताको मूल्याङ्कन परिपाटीमा पनि समस्या देखिने गरेको छ भने परिभाषित काम र परिणाममुखी कार्यविभाजनमा पनि समस्या देखिने गरेको छ ।

यी कुराहरुलाई यो बैठकले गहिरो छलफल गरेर जनसंगठनको प्रभावकारी परिचालनको समस्या अनि आदर्श र व्यवहारबीचको तादम्यता मिलाउँदै तहगत कमिटी प्रणाली र संस्थागत निर्णयलाई थप बलिया बनाउन सक्ने आधार प्रसस्त छन् । गोदावरीमा भेला भएका २४ सय बढी प्रतिनिधिले यो बैठक सम्पन्न गरेसँगै हीरक समारोह मनाएर प्रदेश जिल्ला र वडामा फर्किँदै गर्दा एमालेको मिशन ८४ पनि सनसाइज बन्ने आधार तयार हुन सकोस शुभकामना ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्