कांग्रेस लोकतान्त्रिक पार्टी भन्दा पनि सत्ता स्वार्थमा डुबेको पार्टी हो : अध्यक्ष ओली
काठमाडौं, २९ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको बताउनुभएकाे छ ।
नेकपा एमालेको काठमाडौं महानगर कमिटीको शनिबार भएकाे अधिवेशनकाे उद्घाटन गर्नुहुँदै उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भन्दा पनि सत्ता स्वार्थमा डुबेको पार्टी भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, होइन, सत्ता रुवार्थमा चुर्लुम्म भएको शक्ति हो’ ।
उहाँले कांग्रेसले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएको विषय उठाउँदै लोकतन्त्रमा यस्ताे नहुने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘आरोप लगाउने तर आरोपको खण्डन गर्न नदिनु लाेकतन्त्र हाे’ ? ‘कांग्रेस संसद चल्न दिन्न भन्छ किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ, आरोपित मान्छेले बोल्छु भन्दा बोल्न दिँदैन । आरोपलाई खण्डन गर्छु भन्दा दिँदैन, यस्तो लोकतन्त्र हुन्छ कहीँ ?’
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्न माग गरेको छ । संसदीय छानबिन नभएसम्म संसद अवरोध गर्ने र गृहमन्त्रीलाई संसदमा बोल्न नदिने अडान लिएको छ ।
उहाँले अहिलेको सत्ता गठबन्धन बन्न नदिने कोशिस भएको र अहिले बनिसकेपछि अटाउन कोशिस भइरहेको टिप्पणी गर्नुभयाे ।