दिनमा तीन घण्टा मात्रै सुत्ने उपमेयर डंगोलले गरेका दर्जन कामको फेहरिस्त यस्तो छ
काठमाडौं, २९ वैशाख । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनको इटुम्बहालमा भएको उद्घाटन सत्रमा बोल्दै काठमाडौं महानगर पालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो अगुवाईमा भएका करीब एक दर्जन कामको फेहरिस्त खोल्नु भएको छ ।
उहाँले महानगर बनाउन हरेकपटक सानो कुरामा पनि एमाले सभादलको बैठक बसेर पार्टीसँग निकट रहेर काम गरेको भन्दै एमालेका जनप्रतिनिधिको एकै आवाज र एकै लयमा काम होस् भनेर पार्टीसँग समन्वय गरेको स्मरण गराउनुभयो । उहाँले आफूले एमालेबाट उपमेयरको उम्मेदवार बनेसँगै पार्टीको घोषणापत्रको आधारमा धेरै काम गरेको पनि स्मरण गराउनुभयो । उहाँले घोषणापत्रको अधिकांश योजना बनाउने,चुनावी रणनीति बनाउने मागर्दर्शन गर्ने काममा एमाले केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा. अजय क्रान्ति,काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्य र उहाँको टिमको पनि महत्वपूर्ण योगदान रहेको पनि स्मरण गराउनुभयो ।
उहाँले केन्द्रीय सरकारले गर्नुपर्ने तर नसकेको काम पनि काठमाडौंको उपमेयरको हैसियतले देशभरको न्यायिक समितिलाई एकै ठाउँमा उभ्याएर न्यायिक सम्मेलन गरेको स्मरण गराउनुभयो । ‘७५३ स्थानीय तहका न्यायिक समिति एक ठाउँमा जम्मा भएर न्यायिक समितिको राष्ट्रिय सम्मेलन मेरो आफ्नो नेतृत्वमा गरेकी छु,’ उहाँले भन्नुभयो, ‘देशभर यसले सन्देश पुर्याएको छ । न्यायिक समितिको महत्व दर्शाएको छ ।’
उहाँले ३२ वटै वडामा निःशुल्क कानूनी सेवा दिइरहेको पनि स्मरण गराउनुभयो । ‘हामीले निःशुल्करुपमा मेलमिलापको काम गरेका छौं,’ उहाँले भन्नुभयो । उहाँले शिक्षाको क्षेत्रमा सीप र शिक्षा र सँगै जोड्नुपर्छ भनेर ‘बुक फ्री फ्राइडे’ थालेको, श्रमको क्षेत्रमा २०८१ मा कम्तिमा २०८१ जनालाई तालिम दिने भनेर सीप मेला टुँडिखेलमा आयोजना गरेको पनि उहाँले सुनाउनु भयो । ‘हिजोसम्मको आँकडा अनुसार ४५ हजारले फारम भर्नुभएको छ । यसबाट स्वरोजगार बन्ने मौका मिलेको छ,’ उहाँले भन्नुभयो ।
उहाँले सम्पदा संस्कृतिको क्षेत्रमा निरन्तर काम गरेको, काठमाडौं देशको राजधानीमात्र होइन देशको सांस्कृतिक केन्द्रबिन्दु पनि भएकाले काठमाडौंको कलाकृतिसँग यसको पहिचान जोडिएको भन्दै उहाँले धेरै नीतिगत र बजेटमा समावेश गर्ने काममात्र होइन आफैं जात्राहरुमा सहभागी भएर प्रोत्साहन र हौसला दिने काम गरेको पनि उहाँले उल्लेख गनुृभयो । ‘एक महिनाअघि सेता मछिन्द्रनाथको रथ महिलाले तान्न सक्छन् भनेर शुरु गरेका छौं । इन्द्रजात्रा पनि महिलाको लागि अलग्गै टिम अघि बनाइरहेका छौं । जनप्रतिनिधि जनतासँगै हुनुपर्छ भनेर हरेक जात्राहरुमा म सहभागी भइरहेकी छु,’ उहाँले भन्नुभयो, ‘हाम्रो कला संस्कृतिमा सँगै छौं भन्ने यो पार्टीको पनि मुख्य उद्देश्य हो ।’
उहाँले दिनमा करीब ३ घण्टा मात्रै सुत्ने गरेको उल्लेख गर्नुभयो । ‘यो २ वर्षमा मैले निकै नजिकबाट काम गरेँ पार्टीको महानगर कमिटीसँग । म आफैं पनि राति सबै काम सकिएपछि घर गएपछि दिनभरी के भयो भनेर हेर्ने र पढने बानी छ,’ उहाँले भन्नुभयो, ‘ छिटोमा २ बजे वा साढे २ बजेमात्र सुत्छु । विहान ५ बजे अलार्म बज्नुअघि मेरो मोबाइल फोन बज्छ । त्यो पहिलो कल हाम्रै पार्टीको रामेश्वर कमरेडको हुन्छ । कहिले कहिँ त भर्खर सुतेका जस्तो लागछ तर उहाँको फोन आइसक्छ । आज के के काम गर्ने,कहाँ बैठक यस्ता नियमित अपडेट गर्नुहुन्छ । यसले मलाई कामप्रति सजग बनाउँछ । महानगर कमिटीको अध्यक्ष निर्मल देउला कमरेड विरामी भएर सुत्दा पनि पार्टी कामको चिन्ता गर्ने यस्तो टिमसँग काम गर्दा मैले धेरै सिकेकी छु । पार्टीको घोषणापत्र बमोजिम काम गर्न यो कमिटीले जसरी काम गरेको छ,अब बन्ने कमिटीलाई पनि अग्रिम शुभकामना छ ।’