टर्की पठाइदिने भन्दै ४ करोडभन्दा बढी ठगी, एक जना पक्राउ

काठमाडौं, ३१ वेशाख । वैदेशिक रोजगारमा टर्की पठाइदिन्छु भन्दै ४ करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कास्की पोखरा महानरगपालिका-५ घर भएका ४२ वर्षिया विनोद श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार चावहिलबाट पक्राउ गरेर सार्वजनिक गरेको हो ।

टर्कीको एक कम्पनीमा पठाइदिने भन्दै मिनबहादुर कार्कीलगायत १२४ जना व्यक्तिहरूबाट ४ करोड ३४ लाख ठगी गरी श्रेष्ठ फरार भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार श्रेष्ठले पीडितसँग सुरूमा ५० हजार प्रतिव्यक्ति लिएको थियाे भने मिनबहादुरसहित ४ जनालाई भारतको दिल्लीमा पुर्याएर प्रतिव्यक्ति ३ लाख उठाएर भारतमा रहेका एजेन्टलाई सम्पर्क गराएर होटलमा राखेर फरार भएका थिए । १५ दिन होटलमा बस्दा पनि श्रेष्ठ सम्पर्कमा नआएपछि मिनबहादुरलगाएतका नेपाल फर्किएका थिए ।

अहिले श्रेष्ठमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।