रातो मच्छिन्द्रनाथको रथ साउन १७ गते तान्ने

काठमाडाैं, १७ जेठ । बर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको साउनकाे १७ गते तानिने भएकाे छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने शुभ साईत दुई महिना पछि जुरेको हाे ।

ललितपुरको रातो मच्छिन्द्रनाथको रथ यात्रा गर्ने क्रममा लगनखेलबाट जावलाखेल लैजानु पूर्व साईत हेर्ने परम्परा छ ।

जस अनुसार आज मंगलबजारको सोह्रखुट्टे पाटीमा बसेर ज्योतिषहरुले साइत निकाल्दा २०८१ साउन १७ गते बिहिबारका दिन रथ तान्ने उत्तम साइत निकालेका हुन् ।

गत बैशाख २९ गते पूल्चोकबाट सुरु भएको रथ यात्रा गाबहाल सुन्धारा हुँदै लगनखेल पुर्‍याएपछि साईत हेरेर मात्रै रथलाई जावलाखेल पुर्‍याइन्छ ।

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने र जात्रा सम्पन्न हुने परम्परा छ ।