कान्तिपुर र पशुपति सहकारीकाे अर्बौं रकम अपचलनका आराेपी अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं, १८ जेठ । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् ।

लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन र हाल पशुपति सेभिङ एण्ड कोअपरेटिभका अध्यक्ष हुन् । उनीमाथि कान्तिपुरको ६ अर्ब बढी र पशुपतिको २ अर्ब गरी झण्डै ८ अर्ब रकम अपचलनको आरोप छ ।

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए

कान्तिपुर सहकारीले बचतकर्ताको ६ अर्ब ७८ करोड रूपैयाँ र पशुपति बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा बचतकर्ताको उजुरीसमेत परेको थियाे ।

यी दुवै सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।