काठमाडौं महानगरले फुटपाथ बढाउन भत्काएकाे बाटो सडक डिभिजनले गर्याे कालोपत्रे
काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ बढाउने भन्दै भत्काएकाे नयाँसडककाे कालाेपत्रे सडक डिभिजन कार्यालयले टाल्न थालेकाे छ ।
महानगरपालिकाले भत्काएको सडक जस्ताकाे तस्तै बनाइदिन सडक डिभिजनले मेयर बालेन साहलाइ निर्देशन दिएपनि अटेर गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो ।
काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेर भत्काएकाे थियो ।
काठमाडौं महानगरले सडक डिभिजनसंग समन्वयनै नगरी कालाेपत्रे भत्काएपछि कार्यालयको निर्माण सामग्रीसमेत सडक डिभिजनले नियन्त्रणमा लिएको थियो ।
सडक काट्ने काम डिभिजनले रोकेकै दिन महानगरका मेयर बालेनले रिङरोड विस्तारमा ढिलाइ गरेको भन्दै सडकको धुलो संकलन गरेर विभाग अगाडि फालेका थिए ।
सडक डिभिजनका अनुसार इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने एकातर्फ १६० र अर्कातर्फ ५० मिटर काटिएको कालोपत्रे आज कर्मचारी र मजदुर खटाएर टाल्न सुरू गरेको छ ।