श्रीमती परपुरुषसँग भेटिएपछि नेपाली सेनाका अमल्दारले गरे श्रीमतीको हत्या

दाङ, २५ जेठ । दाङमा श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको छ ।

नेपाली सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकीले आज शुक्रबार बिहान ८ बजे जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामा श्रीमतीको हत्या गरी फरार भएकाे हाे ।

श्रीमतीको हत्या गरी फरार भएका अमल्दार शालिकराम बुढाथोकी तुलसीपुर बाहिनी चोकबाटै पक्राउ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेको जनाएको छ ।

शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए। थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने शालिकराम इप्रका तुलसीपुरको नियन्त्रणमा रहेका छन् । पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेकाे प्रहरीले जनाएकाे छ ।