प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दुई दिनका लागि स्थगित

काठमाडौं, २७ जेठ । प्रतिनिधिसभाको बैठक आज र भोलिका लागि स्थगित भएकाे छ ।

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले सूचना टाँसेर दुई दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित हुनुभएकाे थियाे ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी हुनुभएको थियो ।