बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद
काठमाडौं, २९ । न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ ।
यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको हाे ।
जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।
रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । गिरी विरुद्ध कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।
कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका थिए । यही क्रममा गिरीले २०७९ चैत २७ गते रावलको सामाखुसीस्थित डेरामा पुगेर बलात्कार गरेको भन्दै पत्नी रावलले जिल्ला अदालत काठमाडौंमा बलात्कार कसुरमा मुद्दा दायर गरेकी थिइन् ।
रावलले न्याय पाउनका लागि लामो समयको सडक संघर्ष गर्दै आएकी थिईन । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लगाउन अदालतले ढिलासुस्ती गरेको भन्दै उनी २०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले २०८० माघ एक देखि दोस्रो चरणको अनशन थालेकी थिइन् ।
सरकारले गाँस, बास, कपास र जीविकोपार्जन सहितको पीडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै अनशनरत थिइन् ।