प्रधानमन्त्रीको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमालेकाे माग

काठमाडौं, २९ जेठ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको भेट र त्यसक्रममा भएका कुराकानीबारे जानकारी संसदलाई गराउनुपर्ने माग गर्नुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली जानुभएकाे थियाे । उहाँ सोमबार नेपाल फर्किनुभएकाे थियाे ।

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय विदेशमन्त्री मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएकाे थियाे ।

भारतीय अधिकारीहरुसँगको भेटमा आफूले सार्कलाई सक्रिय पार्नेदेखि नेपाल-भारत सीमासँग सम्बन्धित विषयहरु र दुई देशका बीचमा रहेका संयन्त्रहरुलाई सक्रिय पार्नुपर्ने विषय उठाउनुभएकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभएकाे थियाे ।

सोमबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले उठाएको विषयमा भारतीय समकक्षी मोदी र विदेशमन्त्री जयशंकरकाे सकारात्मक प्रतिक्रिया पाएकाले आफू आशावादी भएर नेपाल फर्किएको बताउनुभएकाे थियाे ।

प्रधानमन्त्रीले पत्रकारहरुसँग गरेको विषय समाचारमा पढेको उल्लेख गर्दै एमाले सांसद पन्तले संसदलाई नै जानकारी गराउन माग गर्नुभएकाे हाे । यसका लागि सभामुखले नै रुलिङ गर्नुपर्ने उहाँको माग छ ।