विरगञ्जका गोदाममा सशस्त्रको छापा, ४४ लाख बढीको अवैध सामान बरामद (तस्बिरसहित) 

विरगञ्ज, ३० जेठ । विरगञ्जका विभिन्न गोदाममा सशस्त्र प्रहरीले छापा मार्दै ४४ लाख बढीको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलले पर्सास्थित विरगञ्ज महानगरपालिका–१९ बर्बालागयत विरगञ्जका विभन्न ठाउँका गोदाममा छापा मारी ४४ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म विरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले विरगञ्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा  अवैध रुपले राखिएका गोदाममा छापा मारेर सौदर्य क्रिम, दाल, मोटर पार्टस तथा अन्य अवैध सामान बरामद गरेको हो ।
बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्राण्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ ।
यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।
यसैगरी मंगलबार रातीनै सोही गुल्मले विरगञ्ज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्टस र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ ।
बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्त डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।