पशुपतिको भेटी चोरी प्रकरण : ५ जना जेल चलान, एक जना धरौटीमा रिहा

काठमाडौं, ६ असार । पशुपतिनाथ मन्दिरको भेटी चोरेकाे आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने एक जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले बुधबार पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् ।

उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशवकुमार थेबेले बताए ।

त्यस्तै सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिइएकाे थियाे । साेही अनुरूप उनी धरौटी तिरेर हिरा भएका हुन्।

प्रहरीले ६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो ।