मामाको योजनामा लुटियाे भाञ्जा, घटनामा प्रहरी हवल्दारसहित पक्राउ

काठमाडौं, ११ असार । मामाको योजनामा भाञ्जाको घरबाट २ करोड रुपैयाँ लुटिएको घटनामा प्रहरी हवल्दारसमेत जोडिएको खुलेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित डिल्ली राउतको घरबाट २ करोड रुपैयाँ लुटपाट भएको प्रकरणमा प्रहरी हवल्दारसमेत रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राउतका मामा कुलबहादुर खत्रीसहित चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३० वर्षीय सुजन रसाइली, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर बोहरा र ओखलुढंगाको मानेभन्ज्याङ गाउँपालिका–३ का ३६ वर्षीय मुनाराज राई रहेका छन् ।
उनीहरुमध्ये बोहरा नेपाल प्रहरीका हवल्दार हुन् । उनी अहिले सशस्त्र प्रहरी गण महाराजगञ्जमा कार्यरत छन् । भाइले क्रोएसियाबाट भिसा पठाउने र डिल्लीले नेपालमा विभिन्न व्यक्तिसँग नगदै बुझेर विदेश पठाउने गरेको जानकारी उनका मामा कुलबहादुरलाई थियो । लुटपाट गर्ने उद्देश्यले कुलबहादुरले सुजनलाई योजना सुनाएका थिए । वैदेशिक रोजगारीकै क्रममा कुलबहादुर र सुजनको चिनजान भएको थियो ।
सुजन ४ कात्तिक २०७६ मा जिल्ला प्रहरी परिसर काठमाडौंबाट नक्कली सुन देखाएर ठगी गरेको कसुरमा र १२ जेठ २०८० मा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेर छुटेका व्यक्ति हुन् ।
कुलबहादुरको योजना सुजनले भीमबहादुरलाई सुनाए । त्यसपछि प्रहरी हवल्दार कृष्णबहादुर बोहरा पनि यसमा सहभागी भएकाे प्रहरी स्रोतको दाबी छ । भीमबहादुर र प्रहरी हवल्दार कृष्णबहादुरको घर सिन्धुपाल्चोकमा एकै ठाउँ हो । उनीहरु सिन्धुपाल्चोकमा सँगै पढेका साथी हुन् । भीमबहादुरले योजना सुनाएपछि दिउँसो केही बेर छुट्टी लिएर ४ असारमा दधिकोट पुगेर हवल्दार कृष्णबहादुर समेतको योजनामा लुटपाट भएको प्रहरीको दाबी छ ।
लुटिएको रकम माकलबारीस्थित भीमबहादुरकाे कोठामा लगेर बाँडफाँट गरेका थिए । करिब आधा रकम लुटको योजना बनाउने डिल्लीका मामा कुलबहादुरले लगेका थिए । बाँकी रकममध्ये ३० लाख सुजनले र बाँकी ३ जनाले २० लाख रुपैयाँको दरले लगेकाे प्रहरीले जनाएकाे छ ।
रकम भागबण्डा गरेपछि त्यही दिउँसो हवल्दार कृष्णबहादुर ड्युटीमा खटिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दिउँसो ३ बजेको ड्युटी गर्न उनी पुगेको प्रहरी स्रोतले जानकारी दियो । हवल्दार कृष्णबहादुर अहिलेसम्म १३ पटकसम्म कारबाही भोगेका प्रहरी कर्मचारी हुन् ।