उपमेयरबाट विदेश भ्रमण स्थगन, मेयर बालनेको रणनीति असफल भएपछि सामाजिक सञ्जालमा आरोप
काठमाडौं, १४ असार । गल्ती आफू गर्ने र दोष जति अरुलाई थुपार्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पुरानै बानी हो । सबै राजनीतिक दल खराब भन्ने भाष्य निर्माण गर्ने र आफू निरंकुश शैलीमा चल्ने मेयर साहको रणनीतिलाई काठमाडौं महानगरपालिकाको १५ औँ नगर सभाको तेस्रो बैठकमा नगर सभा सदस्यहरुले अंकुश लगाइ दिएका थिए । त्यसपछि मेयर साह केही दिन गुमनाम बन्नुभयो ।
प्राप्त जानकारी अनुसार नगर सभाको बैठकमा कांग्रेस, एमाले, एकीकृत समाजवादी र माओवादीबाट निर्वाचित भएका सबै सदस्यहरुले मेयरको विरोध गरेपछि असन्तुष्ट बन्नुभएका साह केही दिन कसैका पनि फोन नउठाएर गुमनाम जस्तै बन्नुभएको थियो ।
नगर सभाको तेस्रो बैठकमै मेयर साहले आजका लागि भनेर बैठक बनाउनु भएको थियो । मेयर साहले आज बजेका लागि बैठक बोलाएपछि अधिकांश नगर सदस्यहरु राष्ट्रिय सभा गृह पुगेका थिए । तर, तीन घण्टा कुर्दा पनि साह नआएपछि अधिकांश नगर सभा सदस्यहरु सभागृहबाट बाहिरिए । तर, साहले भने भ्रम फैलाउँदै सामाजिक सञ्जालमा ‘एमाले, कांग्रेसले वीपी, कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो ।
मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद कांग्रेस, एमालेलाई नेपालको क्रान्त्रिमा उहाँहरुभन्दा धेरै कांग्रेस, एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।’ यति स्ट्याटस लेखेर मेयर साहले फेरि आफ्नो कमजोरी लुकाउन दलबाट निर्वाचित नगर सभा सदस्यहरुलाई आरोप लगाएको भन्दै नगर सभा सदस्यहरुले गुनासो गरेका छन् ।
आर्थिक वर्ष २०८१–८२ का लागि जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठक स्थगित गरेपछि त्यतिबेला पनि मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको अभिव्यक्ति दिनुभएको थियो ।
भोलि पल्टै ब्राजिल उड्नु पर्ने हतारोका कारण बैठक स्थगित गरेर दोष जति अरुलाई थुपारेर असार १० गते अर्थात करीब ९ दिनपछि बैठक बोलाउनु भएको थियो । १० गतेको बैठक पनि आफूले सोचे जस्तो नभए पछि स्थगन गरेर आजका लागि बोलाउनु भएको थियो । तर, आजको बैठकमा मेयर आफैँ उपस्थित नभएपछि नगर सभा सदस्यहरु हिँडेपछि भ्रमपूर्ण स्ट्याटस लेखेर आफूलाई असल देखाउने प्रयास गर्नुभएको छ ।
महानगरपालिका स्रोतले दिएको जानकारी अुनसार उपप्रमुख सुनिता डंगोल एक कार्यक्रमका लागि भोलि पोर्चुगल जाने कार्यक्रम थियो । साहले डंगोल पोर्चुगल उढेपछि उपप्रमुखका कारण बैठक बस्न नसकेको भन्नै भ्रम फैलाउन खोजेपछि डंगोलले नीति, कार्यक्रम र बजेटमाथिको महत्वपूर्ण छलफल छाडेर विदेश भ्रमण गर्नु उचित नहुने भन्दै भ्रमण स्थगित गरिसक्नु भएको थियो । डंगोलले भ्रमण स्थगन गरेको मेसो पाएपछि साहले नयाँ रणनीतिसहित राजनीतिक दलबाट निर्वाचित नगर सभा सदस्यहरुई अर्को आरोप लगाएको बुझिएको छ ।