असई थमन विककाे हत्यामा दोषी ठहर भएका पूर्वसांसद कौशल यादव पक्राउ

काठमाडाैं, १६ असार । सशस्त्र प्रहरी बलका असई थमन विक हत्यामा जन्मकैदको सजाय पाएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

जिल्ला अदालत महोत्तरीले असई थमन विक हत्या प्रकरणमा लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र सांसद यादवसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई आइतबार नै जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ । यादव लामो समयदेखि फरारकाे सूचीमा थिए ।

हाल लोसपाका नेता रहेका उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेश सांसद बनेका थिए । २०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेर हारेका थिए ।

मधेस आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । उक्त मुद्दामा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।