एमाले बागमती सरकारबाट पनि बाहिरिँदै, आजै राजीनामा बुझाउने

हेटौंडा, २१ असार । नेकपा एमाले बागमती सरकारबाट पनि बाहिरिने भएकाे छ । केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असर प्रदेश सरकारमा पनि परेकाे छ ।

एमालेका मन्त्रीहरूले आजै बागमती प्रदेश सरकारमा राजीनामा बुझाउने भएका छन् । चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । तर, पुन: कांग्रेस र एमालेको सहमतिपछि एमालेले सरकार छाड्ने भएको हो ।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयाे ।

बागमतीमा थपलियासहित एमालेका पाँचजना मन्त्री हुनुहुन्छ । अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ हुनुहुन्छ ।