प्रधानमन्त्री ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन एमालेको सुझाव

काठमाडौं, २३ असार । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अविलम्ब राजीनामा दिन सुझाव दिएको छ ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई तत्काल राजीनामा दिन आग्रह गरेको प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयाे ।

‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं। हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने हो,’ प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’

राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्त गरिदिन पनि एमालेले माग गरेको उहाँले बताउनुभयाे ।

नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।