बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

काठमाडौँ, २४ असार । अविरल वर्षाका कारण आएको बाढीपहिराेलगायत विपद्मापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिराेमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिनुभयो ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराेका नौ सय ६६ घटना घटेका छन् ।

बाढीपहिराेले ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित बनेकाे छ ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिराेमा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।