रात्रिकालीन बस ‘रेड एड्भाइजरी’ जारी भएका दिन सञ्चालन नगराइने

काठमाडौं, २८ असार । गृह मन्त्रालयले उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने जनाएकाे छ ।

रात्रिकालीन बस सञ्चालनको विषयमा यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेर यस्ताे निर्णय गरिएकाे हाे ।

आज बिहान नारायणगढ-मुग्लिन सडकमा २ वटा यात्रुवाहक बस त्रिशूलीमा खसेपछि मन्त्रालयमा यातायात व्यवसायीसँग गृह सचिवसहितको छलफल भएको थियाे ।

जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही गर्न गृह सचिवले निर्देशन दिनुभएकाे छ।

गृह मन्त्रालयले मौसम पूर्वानुमान महाशाखाको ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र अर्थात् रेड जोन एरियामा रात्रिकालीन बस नचलाउने निर्णय भएको गृहसचिव एकनारायण अर्यालले बताउनुभयाे ।

कान्तिलोक पथलगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गमा पटक-पटक पटके काटेर ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने निर्णय गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिन्ह राख्ने निर्णय बैठकले गरेको छ ।