प्रहरी जवान पदका लागि नक्कली परीक्षार्थीले परीक्षा दिँदै गरेकाे अवस्थामा छ जना पक्राउ
काठमाडौ, २९ असार । प्रहरी जवान (जनपद) पदको लागि लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
प्रहरी जवान (जनपद) पदका लागि आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालीकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन् ।
यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रवीन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयाे ।
दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको उनले बताउनुभयाे ।