बंगलादेशमा आरक्षणविरोधी आन्दोलन जारी, ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

काठमाडाैं, ५ साउन । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन जारी रहेकाे छ । आन्दोलनका क्रममा हिंसा भड्किएर अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।
बंगलादेशमा आरक्षणविरोधी आन्दोलन जारी रहेकाेले नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ ।
बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको थियो । तर यो आन्दोलनले अहिले हिंसात्मक रूप लिएको छ ।
राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठुलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ । प्रहरी र आन्दोलनकारीबिच धेरै ठाउँमा झडप भएको छ ।
शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो ।
बंगलादेशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप सहयोग आवश्यक भए दूतावासमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।