नगरकोटको एउटा उचित गन्तव्य : फन्की हिल रिसोर्ट
भक्तपुर, ७ साउन । उकालै उकालोको यात्रा । त्यसमाथि साइकलमा । यस्तैमा थकान र भोकसँंगै फन्की हिल रिसोर्ट नगरकोटमा पाएको खानाले साइकलयात्रीहरुलाई सन्तुष्टी तुल्याएको छ ।
नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा कोरा भक्तपुर भएको थियो । ’पैदल र पेडलमैत्री शहर’ भन्ने मुख्य नाराका साथ साइकलमा भएको यात्रा दिनभरि भएको थियो ।
सहभागी साइकल यात्रीहरुलाई खानाको प्रायोजन नगरकोटको फन्की हिल रिसोर्टले गरेको थियो । कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूबाट साथै विदेशबाट एक हजार तीन सय साइकलिस्टहरूले सहभागिता जनाएका थिए ।
भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले कोरा भक्तपुर साइकल यात्रा भएको हो । २५, ५०, ७५ र एक सय गरी चार वटा रुटमा भएकाे साइकल यात्रा एकदमै राेमाञ्चक भएको थियो । यसका लागि पहिला नै सहभागीहरुले कुन रुटमा यात्रा गर्ने भनेर नाम दर्ता गराएका थिए ।
५० किलोमिटरको यात्रामा पहिलो पटक सहभागी भएको बताउने कक्षा ८ मा अध्ययनरत १३ वर्षीया जेन्सी लघुले फन्कीको स्वादिष्ट खानाले थकान नै भुलाइदिएको बताइन् । विहान ५ बजेबाट सुरु भई विहान १० बजे नगरकोट पुग्ने र फन्कीमा खाना खाने तालिका थियो । विहानकाे प्रायोजनमा खाना भए पनि त्यसपछि भने साइकल यात्री आफैंले खाजापानीको व्यवस्था गरेको थियो ।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाका अनुसार च्यालेन्जमा १०० जना भन्दा बढी महिला सहभागी थिए । अध्यक्ष बालाका अनुसार यो पटकको कोरा भक्तपुरमा सहभागीहरूको संख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
सन् २०११ देखि काठमाडौंबाट शुरू भएको कोरा साइकलिङ च्यालेन्ज नेपालको २० भन्दा धेरै शहर र नेपाल बाहेक सिंगापुर, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत लगायतका देशमा पनि हुने गरेको छ । नेपाली माटोबाट शुरू भएको कोरा साइकल च्यालेन्ज एक पृथक साइकलिङ कार्यक्रम हो ।
भक्तपुरमा साइकल कनेक्ट भक्तपुरले कोरा साइकलिङ च्यालेन्ज गर्नुको मुख्य कारण भनेको एक स्थापित साइकलिङ कार्यक्रम मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भक्तपुरलाई चिनाउने अवसरको रूपमा लिइएको छ ।
कोरामा हरेक उमेर समूह र समुदायका साइकलप्रेमीहरू एक महोत्सवको रूपमा सहभागी हुने हुँदा धेरै भन्दा धेरै साइकलप्रेमीहरूसँग जोडिने अवसर पनि हो । कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउने र वातावरणमैत्री यातायातका साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ ।
कोरा भक्तपुरले साइकलिङलाई मात्र प्रोत्साहन गर्ने होइन, भक्तपुरलाई पनि नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ । आफूहरुले पनि लामो समयदेखि वातावरण मैत्री इको प्यानल उत्पादन गर्दै आएको र वातावरण मैत्री साइक्लिङ कल्चरलाई प्रवर्द्धन गर्न विगतका वर्षहरुमा झै यसपाली पनि कोरा भक्तपुरमा स्पोन्सर गरेको नेपाल इको प्यानलका सीईओ इन्जिनियर कृष्णभक्त दुवालले बताए ।