मृत भेटिएका पूर्वराज्यमन्त्री रायकाे हत्या आशंका, राति ३ जना रायकै घरमा बास बसेका थिए
काठमाडाैं, ७ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका पूर्वराज्यमन्त्री ८० वर्षीय रामचन्द्र रायकाे हत्या भएको खुलेकाे छ ।
टाउकोमा धारिलो हतियार प्रहार गरिएकाे अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको प्रहरीले जनाएकाे छ ।
प्रहरी स्रोतकाअनुसार राय राति श्राद्धमा गएर साढे ८ बजेतिर आफ्नो घरमा आएका थिए । त्यसको करिब १ घण्टापछि तीन जना मान्छेको समूह पनि उनको घरमा आएको खुलेको हो ।
राय र उनको घरमा अर्का एकजना काम गर्ने व्यक्ति राम उदेन राय गरी दुई जना बस्दै आएका थिए । राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेकाे अनुसन्धानका क्रममा खुलेकाे छ ।
जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको उनकै घरमा काम गर्न बसेका राम उदेनले बताएको प्रहरी स्रोतले बतायो । त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको राम उदनेले प्रहरी समक्ष बताएका छन् ।
पूर्वराज्यमन्त्री रायकै घरमा सुत्ने बताएपछि राम उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले बताएका छन् ।
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जना र पूर्वराज्यमन्त्री गरी चारजना गफ गरिरहेको र आफू सुतेको हाल प्रहरी नियन्त्रणमा रहेका राम उदेनले बताएका छन् ।
राति पिसाब फेर्न उठ्ने बेलामा भने पूर्वराज्यमन्त्री सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयानमा भनेका छन् । मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि आफूले तत्कालै आफन्तलाई खबर गरेको उनको भनाइ छ ।
प्रहरीका अनुसार राति घरमा ३ जनाको समूहमा आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने आशंका गरिएको छ । रायलाई घरेलु हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।