सिमलताल घटना अध्ययन कार्यदलको समय ७ दिन थप

काठमाडाैं, १० साउन । सरकारले चितवनको सिमलतालमा भएकाे गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय गरेकाे छ ।
गृहमन्त्रालयबाट कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा अनुसन्धान नसकिएकाेले थप सात दिन समय दिइएको कार्यदलका संयोजक छवि रिजालले बताउनुभएकाे छ ।
‘गृहमन्त्रीबाट सात दिन समय थप भएको जानकारी आएको छ। हामीले दुर्घटनास्थलको अध्ययन, दुर्घटनाबाट बाँचेकाहरूसँगको कुराकानी र सरोकारवालासँग छलफल गरेका छौं,’ रिजालले भन्नुभयाे, ‘प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको हो।’
अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयाे ।
कार्यदलको अध्ययनले पनि माथिल्लो भेगबाट लेदोसहितको भेलबाढी आएको र दुई वटा बगाएको देखाएको छ। सिमलतालको भेलबाढी गएको स्थान सिँदुरे गहिरोमाथि भिरालो परेको जमिन छ। त्यसको ठीक माथि डुम्रेबेंसी गाउँ छ। त्यही गाउँको निकास खोल्सी भएर बग्ने गर्छ। वर्षातमा मात्रै पानी बग्ने सिँदुरे गहिरोमा दुइटा खोल्सी मिसिन्छ।
दाहिनेतर्फको खोल्सीमा पानी र थोरै परिमाणमा डेब्रिज अर्थात् गेग्रान बहाव भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। देब्रेतर्फबाट भने उच्च पानी र गेग्रान बहाव भएको देखिएको उल्लेख गरिएको छ। जसका कारण करिब ५.५ मिटर चौडाइको खोल्सी खोतलिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।
उक्त ग्रामीण सडकको पहिलो मोडदेखि पाँचौं मोडसम्मको जमिन ७० सेन्टिमिटरदेखि २.३ मिटरसम्म भासिएको देखिएको छ। त्यस्तै सडकको दायाँबायाँ जमिन चिरा पर्नुका साथै बाटो खनेर पुरेको माटो पनि भास्सिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ। ७ जनाको सनाखत हुन बाँकी छ।
यही घटनाको अध्ययन गर्न सरकारले असार ३१ गते गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो।