क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने गौशाला २६ काे निर्णय

काठमाडौँ, ११ साउन । गौशाला २६ ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएकाे बलात्कारको आरोपमा उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् ।

गौशाला २६ ले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।

उनले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ ।

उनले मुद्धाका कारण मानसिक र सामाजिक रुपमा पीडा भोग्नुपरेको बताउदै अब यी सबै कुरा छोडेर अगाडी बढ्ने निर्णय गरेको बताएकी छन् ।

पीडितको निवेदनलाई उच्च सरकारी वकिल कार्यालयले दर्ता गरेर राखेको छ । अव आगामी दिन सर्वोच्चमा पुनरावेदन गर्ने कि नगर्ने भन्नेबारे हालसम्म उच्च सरकारी वकिलको कार्यालयले कुनै निर्णय गरेको छैन ।

क्रिकेटर सन्दिप लामिछानेकाे बलात्कार मुद्दा उच्च अदालतबाट फैसला भएको हो । गत शुक्रबार मात्रै फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो ।