नेपाल सरकारद्वारा त्रिशूलीमा खसेर बेपत्ता भएकाे बस खाेजिदिन चीन सरकारसंग अनुराेध

काठमाडौं, १६ साउन । सरकारले पहिराेले त्रिशूलीमा खसेर बेपत्ता पारेकाे बस खाेजिदिन चीन सरकारसंग अनुराेध गर्ने तयारी गरेकाे छ ।

असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेको दुई वटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न गृह मन्त्रालयले पहल थालेको हो ।

गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र बाँकी यात्रु खोज्न चीनसँग सहयोग माग्ने तयारी रहेको जानकारी दिनुभयाे ।

अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी भइरहेको बताउनुभएकाे हाे ।

गृहसचिव अर्यालले २ सय ५० किलोमिटरभन्दा बढी चल्ने सवारीमा दुई जना चालक अनिवार्य गर्ने तयारी गरिएको पनि बताउनुभयाे । उहाँका अनुसार यात्रा गर्दा यात्रुको टिकट अनिवार्य गर्न पनि यातायात व्यवसायीलाई भनिएको छ ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो ।