धादिङकाे गल्छीमा श्रीमान्द्वारा गर्भवती श्रीमतीको निर्मम तरिकाले हत्या

धादिङ, २३ साउन । भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका–६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको निर्मम तरिकाले हत्या गरेका छन् ।

श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै मगरले निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उनकै श्रीमान्ले पेटमा निर्घात कुटपिट गर्दा बच्चा नै बाहिर निस्केको र उनको मृत्यु भएको हो ।

निशा र प्रकाश गल्छी गाउँपालिका–६ खैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए ।

साउन १८ गते राति हत्या गरिएको अवस्थामा निशाको शव फेला परेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् प्रकाश मगरलाई प्रहरीले साउन २० गते पक्राउ गरी अनुसन्धान गरेको थियो ।

निशाको हत्या प्रकाशले नै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मिश्रले जानकारी दिनुभयो । पटकपटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुङ्गानाटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राति महेश दोभानमा आएर श्रीमतीको हत्या गरेको छिमेकीहरूले आशङ्का गरेका छन् ।

निशाको शव परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाएको छ ।