सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक जेल चलान

खोटाङ, २९ साउन । सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् ।

विसं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर फर्कंदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामूहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि सोमबार साँझ कारागार चलान भएका हुन् ।

सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि विसं २०७२ माघ २० गते आफन्तले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले विसं २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतले कैद सजाय सुनाएको तीन वर्षपछि नरदेशलाई घरमा आएको मौका पारेर आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

सामूहिक बलात्कारको घटनापछि लुकीछिपी बस्दै आएका नरदेशलाई प्रहरी चौकी रतन्छाले आइतबार राति १० बजे पक्राउ गरेपछि सोमबार जिल्ला ल्याइएको थियो । जिल्ला ल्याइएलगत्तै अदालतमा हाजिर गराइएका नरदेशलाई अदालतले कैद भुक्तानका लागि कारागार चलानको आदेश दिएको प्रहरीले जनाएको छ ।

रातको समयमा बाटो छेकेर सामूहिक रुपमा भएको जबर्जस्ती बलात्कारको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।