रास्वपा सांसद हरि ढकालले बोल्दा सभामुखले राेकेपछि………
काठमाडौं, २९ साउन । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई विषय केन्द्रित भएर नबोलेको भन्दै माइक काट्नुभएपछि विपक्षी दलले आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको आजकाे बैठकमा आकस्मिक समय लिएर बाेल्नेक्रममा ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले माइक काट्नुभएकाे थियाे ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई दुई मिनेटको बोल्न समय दिनुभएकाे थियाे भने लामिछानेले सांसद ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाउनुभएकाे छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसदलाई यो बोल्न पाइन्छ त्यो पाइँदैन भन्ने कुरा आफूहरूलाई मान्य नहुने बताउनुभयाे ।
अध्यक्ष लिङ्देनले भन्नुभयाे ‘जनताका प्रतिनिधिले आफ्ना कुरा राख्छन्। संविधान र संसदको नियमावली विपरीत भयो भने सभामुखले रोक्ने आफ्नो ठाउँमा छ। तर यो विषय बोल्न पाइँदैन भन्ने कुरा मान्य हुँदैन। सांसदको विशेष अधिकारलाई नियन्त्रण गर्ने कुरा मान्दैनौँ।’
त्यसपछि रास्वपा र राप्रपा सांसदहरु उठेर संसद अवरोध गरेका थिए । सांसदहरुलाइ सभामुखले बस्न आग्रह गर्दा पनि नमानेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरु पनि उठेर बिराेध जनाएका थिए ।
अन्तिममा सभामुख घिमिरेले सांसद हरि ढकाललाई बाँकी समय उपयोग गरेर बोल्न समय दिएपछि माओवादी, रास्वपा र राप्रपा सांसदहरु बसेपछि संसद बैठक सञ्चालन भएको थियो ।