आँबुखैरेनी अस्पतालमा डेङ्गी सङ्क्रमितको निःशुल्क उपचार

तनहुँ, २९ साउन । तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गी सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ ।

अस्पतालले लक्षित वर्गलाई डेङ्गी सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेङ्गी रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेङ्गी परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

प्रारम्भिक लक्षण देखिएका सबैलाई ‘र्यापिड डाइग्नोष्टिक टेष्ट’ विधिबाट परीक्षणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यस्तै, गरिब तथा आर्थिक रुपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्ग, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा बेहोरिने चुमानले बताउनुभयो ।

आँबुखैरेनीमा केही दिनयता डेङ्गी सङ्क्रमित बढेकाले सतर्कता अपनाउन आवश्यक रहेको अस्पताल प्रमुख डा डिबी क्षेत्रीले बताउनुभयो । डेङ्गी रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने डा क्षेत्रीले बताउनुभयो ।