निगुरो व्यापार: शुन्य लगानीमा लोभलाग्दो आम्दानी

सर्लाही, ९ भदौ । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् ।

झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ । वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने यहाँका स्थानीय बताउँछन् । लगानी नलाग्ने भएका कारण निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ । सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् । विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन् ।

जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्नुहुन्छ । निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उहाँले बताउनुभयो । “यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “दिनको सात सयसम्मको निगुरो टिप्ने गरेको छु ।”

फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उहाँले बताउनुभयो । वर्षमा सात महिना लगभग टिप्दा ८० देखि ९० हजारसम्म एक जनाले कमाउने गर्छन् । निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ । देख्दा निगुरो टिप्ने त हो नी भन्ने लाग्छ । तर आम्दानीको राम्रो स्रोत बनेको उहाँ बताउनुहुन्छ ।

बरहथवा–९, मूर्तियाका कर्णबहादुर कुशवारले पनि विगत सात वर्षदेखि निगुरो टिप्ने गरेको बताउनुभयो । “राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु”, उहाँले भन्नुभयो, “यसको मूल्य सधैँ एकनाश रहन्छ । धेरै घटबढ गर्दैन”, आफ्नो बूढाबूढी नै दैनिक निगुरो टिप्न आउने गरेको उहाँले सुनाउनुभयो । बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ ।

सोही स्थान बस्नुहुने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ । छिटोछिटो टिप्ने भएकाले दिनमा सात सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताउनुभयो । “फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्”, उहाँ भन्नुभयो, “दैनिक बिहानबेलुका दुई/चार घण्टा खट्दा राम्रो कमाई हुन्छ ।” निगुरो टिप्ने काम जागिर भएको उहाँले बताउनुभयो ।

गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हन्छ । “गाउँतिरै पनि खोज्ने मान्छे आउछन्”, उहाँले भन्नुभयो, “व्यापारीलाई पनि अझै पुगेको छैन् ।” टिप्नसकेजति व्यापारीले लैजान्छन् । व्यापारीहरुले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागको सयम पैसा दिने गरेका स्थानीयको भनाइ छ ।

यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने सङ्कलन गर्ने र काठमाडौँका बजारसम्म पुर्याउने गरेको व्यवसायी सुनिता महतोले बताउनुभयो । उहाँका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा पाँच रुपैयाँ पाउथे । अहिलो जोडी मुठाको रु २५ पाउँछन् । निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उहाँले बताउनुभयो । सङ्कलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्ने गर्नुभएको छ ।

यस क्षेत्रका ३६/३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिनुभयो । “दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पुर्याउँछु”, उहाँले भन्नुभयो, “एक बोरामा ८० मुठा हुन्छ । दैनिक हजार मुठा बढी सङ्कलन हुन्छ ।”

निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग सात महिनाको अवधिमा रु ३० लाख आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *