नव–निर्मित नुवाकोटको केन्द्रीय कारागारमा काठमाडौंका तीन कारागारवाट १ सय ५० जना कैदी स्थान्तरण
काठमाडौँ । काठमाडौं उपत्यकाका जगन्नाथदेवल, डिल्लीबजार र नख्खु कारागारबाट १ सय ५० जना कैदीलाई नुवाकोटमा निर्माण गरिएको केन्द्रीय कारागारमा नेपाल सरकारले स्थानान्तरण गरेको छ ।
खासगरी हत्या, बलात्कार, लागूऔषध, ज्यानमार्ने उद्योगलगायत गम्भीर किसिमका अपराधमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका डेढ सय जना कैदीलाई नुवाकोटमा निर्माण भएको केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको हो।
नुवाकोटमा निर्माण सम्पन्न भइसकेका भवनमा कैदीबन्दी स्थानान्तरण गर्ने योजनाअनुसार पहिलो चरणमा डेढ सय कैदी उपत्यकाबाट स्थानान्तरण गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ। निर्माण सम्पन्न भइसकेका ब्लकहरुमा १ हजार ३ सय ७० जना कैदी राख्न मिल्ने र अहिलेलाई डेढ सय जना स्थानान्तरण गरिसकिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले बताए।
उनका अनुसार निर्माण सम्पन्न भइसकेका संरचनामा काठमाडौं उपत्यकाका विभिन्न कारागार र चाप हेरेर अरु कारागारबाट कैदी स्थानान्तरण गरिने र पहिलो प्राथमिकतामा काठमाडौंको चापलाई मध्यनजर गरेर स्थानान्तरण गरिने जनाइएको छ। जसअन्तर्गत काठमाडौंका कारागारबाट अरु थप ५ सय कैदी पनि लैजाने योजना छ ।
नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प (चण्डीपोखरी) क्षेत्रमा सरकारले केन्द्रीय कारागार भवन निर्माण गरिरहेको छ । करिब ७ अर्ब रुपैयाँ लागतमा कारागार संरचना निर्माण गरिने गुरुयोजना बनेकोमा हालसम्म दोस्रो चरणसम्मको काम मात्रै सम्पन्न भएको छ ।
विभागका निर्देशक कमल पाण्डेका अनुसार करिब २ अर्ब रुपैयाँ लागतका संरचना अन्तर्गत १ हजार ३ सय ७० जना क्षमताका संरचना निर्माण भएको बताए । त्यसमध्ये निर्माण सम्पन्न भएको ब्लकमा उपत्यकाका तीनवटा कारागारबाट डेढ सयको संख्यामा कैदीलाई स्थानान्तरण गरिएको हो ।