मोरङको सुन्दरहरैंचामा विषादी खुवाएर दुई छोरीको हत्या, आमा बेपत्ता
काठमाडौं, १६ भदाै । दुई छोरीलाई विष खुवाएर हत्या गरी आमा बेपत्ता भएका छन् ।
मोरङको सुन्दरहरैंचाकाे केरा बगानमा दुईजना बालिका मृत अवस्थामा फेला परेपछि याे घटना बाहिर आएकाे हाे ।
धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरुलाई विषादी खुवाएर हत्या गरिएको खुलेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आमा अस्मिता भने फरार रहेको बताइएको छ ।
प्रहरीले घटनास्थलमा विषादी पनि भेटिएको जनाएकाे छ । आफ्ना दुवै छोरीलाई विष खुवाएर आमा फरार भएको हुनसक्ने प्रहरीकाे अनुमान छ ।
बालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएकाे छ ।
