संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

काठमाडौँ, १६ भदौ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ ।

समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिका बनाएको हाे ।

समितिले आज चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मासँग छलफल गर्न लागेको हो । समितिले शुक्रबार प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गर्दै छलफल गरेको थियो ।

समितिले सुरुमा चीनका लागि प्रस्तावित प्राडा ओलीबाट छलफल सुरु गरेको छ । समितिको बैठकमा कार्ययोजना पेस गर्दै उहाँले नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने र जनस्तरमा थप विस्तार गर्ने बताउनुभएको छ । सुनुवाइ समितिमा उहाँले आफ्नो कार्ययोजना पेस गरिरहनु भएको छ ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारले इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ ।

त्यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस हुनुभएको छ ।

प्रस्तावित राजदूतविरुद्ध नौवटा उजुरी परेकामा समितिले छ जना उजुरीकर्तालाई बैठकमा उपस्थित भई आफ्ना भनाइ प्रस्तुत गर्न अनुमति दिएको थियो । उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *