उदयपुरको कटारी नगरपालिका सोरुङ छविसेमा आमा छोराको हत्या
उदयपुर, २० भदौ । उदयपुरको कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ ।
वडा कार्यालय नजिकै किराना पसल गर्दै आउनुभएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उहाँका छोरा अन्दाजी छ वर्षिय आरुस थापाको आज बिहान पसलमै हत्या गरिएकाे अवस्थामा शव भेटिएको हो ।
वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकले आमाछोराको शव देखेका थिए । “आमाको शव भुइमा घोप्टो परेको र छोराको खाटमा रगताम्य अवस्थामा फेला परको हो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।”
ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्फ पठाइसकेको बताउनुभयो ।
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए । उहाँले भन्नुभयो, “तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।”
घटनास्थल पुग्नुभएका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिनुभयो । स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताउनुभयो । तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन् ।