बालिका करणी आरोपमा कुलेश्वरबाट ५४ वर्षिय पुरुष  पक्राउ

काठमाडौँ । बालिका करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षिय पुरुष पक्राउ परेका छन् । बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोप लागेका पुरुषलाई पक्राउ गरिएको हो । आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ ।

गएको ६ बर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रुपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् । बालबालिकाहरुको अवस्था अध्ययनका लागि काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन् ।

यसरी प्राप्त गरिएको जानकारी र संयुृक्त अनुगमन टोलीले गरेको अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको देखिन्छ । काठमाडौं महानगरपालिका मेयरको सचिवालय सदस्य धिरज जोशीका अनुसार, प्रतिवेदन आफैँमा जाहेरी हो ।

अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई उद्धार गरिसकिएको जोशीको भनाइ छ । जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *