मध्यराति ट्याक्सी चढाएर सुन्दरीजल पुर्याएर प्रेमिकाकाे हत्या
काठमाडौं, २३ भदाै । काठमाडाैंकाे सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । भदौ २० गते बिहान मृत भेटिएकी युवतीको हत्या आरोपमा दुईजना पक्राउ परेपनि मृतकको भने अझै पहिचान खुल्न सकेको छैन ।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा-३ का ४० वर्षीय रामविनय महरा र सर्लाहीको बसगरिया-५ का २४ वर्षीय सन्तोषराम महरा छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिला ४० वर्षीय रामविनयको प्रेमिका भएको खुलेको हाे ।
रामविनयले मृतकको घर सिरहा भएको र नाम राम दुलारी भएको अनुसन्धानका क्रममा बताएका छन् भने अन्य केही विवरण प्राप्त भएको छैन ।
रामविनयले भदौ १९ गते राति अन्दाजी १२ बजे ट्याक्सी ती युवतीलाई सुन्दरीजल पुर्याएर हत्या गरेकाे अनुसन्धानबाट खुलेकाे छ । रामविनयले ढुंगाले हानेर महिलाको हत्या गरेको बयान दिएकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौं प्रहरी परिसरकाका एसपी नवराज अधिकारीका अनुसार मृतकका आफन्त कोही पनि सम्पर्कमा आएका छैनन् । प्रहरीका अनुसार पक्राउ परेका रामविनय र सन्तोष दुवै सडक किनारमा जुत्ता सिलाएर हिँड्ने काम गर्छन् ।
प्रहरीका अनुसार युवतीको शव सुन्दरीजल खोलाको किनारभन्दा केहीमाथि चेपमा भेटिएको थियो । प्रहरीले प्रावधिक अनुसन्धान गर्दै जाँदा सीसीटीभी फुटेजमा राती ११ बजे तीनजना हिँडिरहेको देखिएको थियो ।
त्यसपछि प्रहरीले ती तीनजनालाई सुन्दरीजलमा ल्याउने ट्याक्सीको पहिचान गरेको थियो । ट्याक्सी चालक भेटिएपछि प्रहरीलाई आरोपीसम्म पुग्न सजिलो भएकाे थियाे ।