पाँचथरमा बेवारिसे बम विस्फोट घटनामा अनाहकमा बालबालिकाको मृत्युबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ, त्यसको जिम्मेवारी कसले लिने ?

काठमाडौं, २४ भदाै । सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भइ २ जना बालबालिकाको ज्यान गएको विषयमा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

सोमबार बसेकाे प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बाेल्नुहुँदै प्रमुख सचेतक बर्ताैलाले साे घटनाबारे सदनलाई जानकारी गराउन गृहमन्त्री रमेश लेखककाे ध्यानाकर्षण गराउनुभएकाे हाे ।

सशस्त्र द्वन्द्वको समयमा अलपत्र छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? भन्दै उहाँले प्रश्न गर्नुभयाे ।

राज्य पक्षबाट बेवारिसे बम छाडेकाे नसुनिएकाे भन्दै उहाँले त्यतिबेला द्वन्द्वरत पक्षबाट साे बम बेवारिसे राखिएकाे हाे भने देशभर कहाँ कहाँ त्यस्ता बम राखिएकाे हाे खाेजी गर्नुपर्ने बताउनुभयाे ।

पाँचथरको फालेलुङ गाउँपालिका-५ मा गत बिहीबार सकेट बम विष्फोट भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो । भने यस भन्दा अघि पनि बेवारिसे बम पड्केर दुर्घटना भएका धेरै घटनाहरू छन् ।