युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ

काठमाडौं, २६ भदौ । युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।

‘इकु’लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा गैर कलाकारलाई कलाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयाे ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

इकुले विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले बताउनुभयाे । पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।