वसन्तपुरमा इन्द्रजात्राकाे राैनक (तस्वीरहरू)

काठमाडौं, १ असोज । वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा आराधना गरी मंगलबार काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व उपत्यकासँगै विभिन्न जिल्लामा पनि मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको य:सिं ठड्याइएपछि प्रारम्भ हुने यो जात्रामा विभिन्न प्रकारका भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

उपत्यकाबासीले इन्द्रजात्रामा विभिन्न देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने गरिन्छ ।

मंगलबार इन्द्रजात्राको मुख्य दिन बसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रीहरु, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायतले बसन्तपुरमा इन्द्रजात्राको अवलोकन गर्नुभएकाे छ ।

इन्द्रजात्रामा राष्ट्रप्रमुखले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

तस्बिर: राजन महर्जन