काठमाडाैंकाे दरबारमार्गमा सवारी आवागमनमा रोक

काठमाडौं, २ असाेज । संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

सरकारले भोलि असोज ३ गते संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेसंगै सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हाे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

सदाझैं यस वर्ष पनि असोज २, ३ र ४ गते दीपावलीसहित विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउन गृह मन्त्रालयले मातहतका सरकारी कार्यालयहरुमा परिपत्र गरेको थियो । दिवस मनाउन तीनै तहका सरकारमा संविधान दिवस मनाउन आयोजक समिति गठन गरिएको छ ।

काठमाडौंमा नागरिकस्तरमा हुने भनिएको सांगीतिक कार्यक्रमलाई ‘नेशनल डे कन्सर्ट’ भनिएको छ ।

कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक(गायिका सहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् ।