नेप्सेमा पुनः सकारात्मक, चवालिस अंक बढेर २५०० नाघ्याे

काठमाडाैं, १४ असाेज । नेप्से परिसूचक पुन: बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ४४.४५ अंक बढेर २५०८.८६ विन्दुमा पुगेको हाे।

यस दिन सेन्सेटिभ इण्डेक्स ६.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ५० हजार ६८० पटकको कारोबारमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको ९७ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १५७ रुपैयाँ बढेर १ हजार ७२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन कुमारी सबल योजनाको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ९.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशत बढेको छ।