सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने एमालेको निर्णय

काठमाडौं, १५ असाेज । नेकपा एमालेको आज बसेकाे सचिवालय बैठकले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

होटल बसेरामा बसेको सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताउनुभयाे ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गर्नुभएकाे छ ।