झाझ खोलामा नुहाउन गएका बालकको डुबेर मृत्यु

सर्लाही, १८ असोज । सर्लाहीको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
आज साँझ बसवरिया गाउँपालिका–४, गोनर्वा निवासी सुरेन्द्र भण्डारीको १० वर्षीय छोरा चन्दनको नुहाउने क्रममा झाझ खोलामा डुबेर ज्यान गएको हो ।
नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका बालकको तत्काल उद्धार गरेर अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
बरहथवा नगरपालिकास्थित हनुमन्त अस्पतालमा पुर्याएपछि बालकलाई चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको हो । बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दिवाकर गणेशले जानकारी दिनुभयो ।