राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ, २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभएकाे छ ।
काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।
सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गर्नुभयो । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।