इच्छाकामनाका वृद्धवृद्धालाई बैंकबाट भत्ता लिन सास्ती

चितवन, २१ असोज । चितवनकाे इच्छाकामनाका वृद्धवृद्धालाई वृद्धभत्ता रकम लिन भएकाे छ । माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुग्नुभएका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गर्नुभयो । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उहाँको गुनासो छ ।

घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी हुनुभयो, त्यत्ति नै थकित पनि देखिनुहुन्थ्यो । सञ्चरीमायामात्र होइन इच्छाकामना –३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिनुभयो ।

कुरिनटारमै रहेको अर्काे प्रभु बैकमा पनि आइतबार उस्तै भीड थियो । वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहनुभएको थियो । बिहानैदेखि आएर कागजपत्र बुझाउनुभएका इच्छाकामना २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउसो भत्ता रकम लिन पाउनुभएन । बैंकमा सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भीड थियो ।

बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आउनुभएका इच्छाकामना – १ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताउनुभयो । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उहाँको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने माग गर्नुभयो ।

इच्छाकामना वडा नं १ र २ बाट कुरिनटारमा रहेको बैंकसम्म गाडी रिजर्भ गरेर भत्ता लिन आएको उहाँले बताउनुभयो । आवतजावत गर्न जनही रु सात सय गाडी भाडामा मात्र खर्च हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “झण्डै तीन घण्टाको बाटो गाडी रिजर्भ गरेर यहाँ भत्ता रकम लिन वृद्धवृद्धा आउनुभएको छ, भाडामात्र रु सात सय लाग्छ, वडामै भत्ता वितरण गरेको भए उक्त रकम बच्ने र यहाँ आएर यसरी लाइन बस्नुपर्नेे थिएन ।”

इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन ।” अशक्तहरूका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप सहज बनाउन बैंकसँग छलफल गर्नेे बताउनुभयो ।

माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गर्नुभयो । उहाँले वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बैंकसम्म आउन नसक्नेलाई वडाको सिफारिसमा हकवालाले भत्ता रकम बुझ्न पाउने व्यवस्था गरेका छौँ, दसैँका बेला भएकाले सबै वृद्धवृद्धा एकैपटक आउँदा केही समस्या भएको हो ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताउनुभयो । गाउँपालिकाले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ ।