पोखराकाे तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै
कास्की, २२ असोज । पोखराकाे बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ ।
विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो । यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरका ६ कालीगढले काम गरिरहेका छन् ।
दसैँमा पुनःनिर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनःनिर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो । पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिनुभयो ।
तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले रु दुई करोड र पुरातत्व विभागले रु २५ लाखगरी कूल रु दुई करोड २५ लाखको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो ।
समितिले रु १० करोडको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो । अबको छ महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो । तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उहाँले बताउनुभयो ।
फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ । स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको रु चार करोड ७० लाख समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ ।