“धेरै कुरामा ‘कम्प्रोमाइज’ हुन सक्दछ, तर प्रणालीको कुरामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।

६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पार्नुभयो ।

“अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिन्छ, दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे, कुन दसैँ भनेको ? ८४ सालको दसैँपछिको चुनावमा ? ठिकै हो । त्यसभन्दा यता मैले एक वर्ष नौ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु । त्यसबेला आफैँ फेरिन्छ यो सरकार”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसपछि देउवाजीले नेतृत्व गर्नुहुन्छ, उहाँको नेतृत्वमा २०८४ सालमा निर्वाचन हुन्छ । चुनावपछि जो आउँछ त्यसले सरकार बनाउँछ । यस कुरामा सबै ढुक्क रहन म आग्रह गर्न चाहन्छु ।”

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा ठूलो योगदान गरेका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पार्टीले मिलेर बनेको लगभग दुई तिहाइको सरकार भएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमार्फत निर्माण गरिएको वर्तमान संविधान र जनताको सङ्घर्षको बलमा स्थापित लोकतान्त्रिक प्रणालीमा कुनै ‘कम्प्रोमाइज’ नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनतामा सार्वभौमसत्तानिहीत रहेको यस प्रणालीको रक्षा गर्नु सम्पूर्ण नेपालीको कर्तव्य भएको बताउनुभयो ।

“पूर्वज र अग्रजले यो देशको निर्माण र समृद्ध बनाउने सन्दर्भमा धेरै बलिदान र कष्ट व्यहोर्नुभएको छ । आजको स्वतन्त्रतायुक्त समाज यत्तिकै आइलागेको होइन, यो बडो मेहनतका साथ आएको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतामा सार्वभौमसत्ता रहेको र जनता शक्तिको स्रोत रहेको संविधान र यसबाट निर्दिष्ट अहिलेको लोकतान्त्रिक प्रणालीको रक्षा गरिनेछ ।”

अलोकतान्त्रिक विधिबाट परिवर्तन गर्छु भन्नु अराजनीतिक विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “धेरै कुरामा ‘कम्प्रोमाइज’ हुन सक्दछ, तर प्रणालीको कुरामा कुनै सम्झौता हुँदैन । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने चुनावका माध्यमबाट अर्को सरकार गठन गर्न सकिन्छ ।”