एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या
चितवन, ६ कात्तिक । चितवनमा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिएकाे छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो ।
एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो । उहाँले भन्नुभयो, “अहिलेको समस्या भनेको एचआइभी सङ्क्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।” असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमितहरुमा भिरिङ्गी रोगको सङ्क्रमणसमेत देखिएको हो । सङ्क्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन् ।
सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो । उनीहरुलाई अहिले नियमित औषधि सेवन गराइएको उहाँले जानकारी दिनुभयो । क्षयरोग देखिनुमा मुख्य समस्या सङ्क्रमितहरुले मादक पदार्थ र धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ । क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उहाँले बताउनुभयो ।
फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहनुभएका सापकोटाका अनुसार जिल्लामा हाल एक हजार दुई सय १३ सङ्क्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् । उनीहरुमध्ये पाँच सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका र २० जना तेस्रोलिङ्गी रहेका छन् । सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ सङ्क्रमित भेटिएको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।”
यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ सङ्क्रमितले औषधि सुरु गरेका छन् । यहाँ नियमित औषधि सेवन गर्नेमध्ये ३० जना स्थानान्तरण भएर गएको उहाँले बताउनुभयो ।